‘अन्तिम सास रहुञ्जेलसम्म गीत गाउँछु’

मुम्बई(एजेन्सी) । इन्टरनेटको विश्व र सामाजिक सञ्जालको जति चर्चा हुन्छ, यी दुई बस्तुका कमजोरी पनि उस्तै हुन्छन् । हालै मात्र भारतकी स्वर साम्राज्ञी लता मंगेशकरले गायनबाट अवकास लिने हल्ला सामाजिक सञ्जालमा भाइरल भएपछि उनका फ्यान दुःखी भए । लताले भने भाइरल कुरामा विश्वास नगर्न आग्रह गर्दै आफ्नो अन्तिम सास रहेसम्म गीत गाउन नछोड्ने बताइन् ।

सामाजिक सञ्जालमा लताले गाएको मराठी गीत ‘अता विश्व्याछा कसां’ पोष्ट भएको थियो । जसको अर्थ ‘अब आरामको समय हो’ हुन्छ । यो गीतलाई लताको अवकासको कुरासँग जोडेर समाचार आएपछि उनका प्रशंसक दुःखी भएका थिए ।

‘यो हल्ला कसले र किन सुरु ग¥यो भन्ने मलाई केही थाहा छैन । मलाई लाग्छ कि यो कुनै बेरोजगार मान्छेको काम हो । दुई दिन अघि मात्र अचानक मेरो अवकाशको विषयलाई लिएर फोन तथा सन्देश आउन थालेपछि म छक्क परें,’उनले भनेकी छन्, ‘सोधी खोजी गरेपछि मलाई थाहा भयो कि मेरो मराठी गीतमध्ये एक गीत ‘अता विश्व्याछा कसां’लाई मेरो अलविदा गर्ने गीतको रुपमा देखाइएको रहेछ । मैले पाँच वर्ष अघि नै त्यो गीत गाएको थिएँ । सन् २०१३ मा यो गीत लिएर संगीतकार सलील कुलकर्णी मसँग आएका थिए । यो गीत प्रख्यात कवि बालकृष्ण भगवन्त बोरकरले लेखेको भएर पनि म गीत गाउन सहमत भएँ । मैले कहिल्यै पनि उनको कविता गाइनँ । गलत विचार बोकेका मानिसहरुले यसलाई नै मेरो अवकासको हतियारका रुपमा प्रयोग गर्छन् भन्ने मलाई थाहा थिएन ।’

लताले आफ्ना फ्यानलाई आफ्नो अवकासको कुनै योजना नभएको र जीवनको अन्तिम समयसम्म गीत गाइरहने आश्वासन दिएकी छन् ।