ढाका पहिरनमा ढलक्क रणवीरका कलाकार

काठमाडौं । फिल्म ‘रणवीर’ को लोक फ्लेबरको गीत ‘तिरीमिरी तिरीमिरी तीनतारा’को छायांकन गरिएको छ । राजधानीको नक्सालस्थित बालमन्दिरमा सेट तयार गरेर ४ दिनको अवधिमा गीत छायांकन गरिएको हो । संगीतकार राजनराज शिवाकोटीको संगीत, शब्द र स्वर रहेको गीतमा गायिका अन्जु पन्तले राजनराजलाई गायनमा साथ दिएकी छन् ।

गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचर्ड छन् । यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरिरहेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका छन् । ‘गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखिएको छैन’ नृत्य निर्देशक रामजी भन्छन ‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’

फिल्मकी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताइन् । ‘गीतमा हामीले फिल्ममा झैं सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १ सय ५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’

गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले दाबी गरे । ’गीत राम्रो बनेकोले चाहिएको प्रोपर्टी त्यहि अनुरुप हामीले तयार गरेका हौ’ दिपेन्द्र भन्छन ’गीत हेर्दा दर्शकलाई अडियो भन्दा भिडियो कमजोर नलाग्ने किसिमले तयार गरेका छौ ।’ माघ १८ मा रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।