बेइजिङ(एजेन्सी) । चीनको शिनजियाङकी एक युवतीले हिन्दी भाषामा गाएको गीत यतिबेला चिनियाँ सामाजिक सञ्जाल वीबोमा लोकप्रिय बनेको छ । भिडियोमा ती युवती आमिर खानको फिल्म ‘सीक्रेट सुपरस्टार’को गीत ‘नचदी फिरा’ गाइरहेको देखिन्छिन् ।
चिनियाँ युवतीले गाएको यो गीत चीनमा आमिरकै उपस्थितिमा उनले गाएकी हुन् । आमिर हाल आफ्नो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को प्रोमोसनका लागि यतिबेला चीनमा छन् । दर्शक दीर्घामा बसेकी ती युवतीले गाएको गीत सुनेपछि आमिरले उनको तारिफ नै गरे । ‘तपाईले राम्रो गाउनुभयो । यो गीत निकै गाह«ो छ’, आमिरले भने । आमिरको प्रशंसा सुनेपछि ती युवतीले शिनजियाङ क्षेत्रको सांस्कृतिक पहिचानसँग जोडिएको टोपी उनले उपहार स्वरुप आमिरलाई दिन्छिन् ।
युवतीले गाएको गीतको भिडियो शियान शहरको शिडियन यूनिभर्सिटीमा १८ डिसेम्बरमा खिचिएको थियो । त्यो समयदेखि हालसम्म यो भिडियो ७० हजार बढी दर्शकले हेरिसकेका छन् । भिडियोलाई करिब १५ सय व्यक्तिले शेयर पनि गरेका छन् ।
चीनमा ‘ठग्स अफ हिन्दोस्तान’ २८ डिसेम्बरमा रिलिज हुँदैछ । आमिर फिल्मको प्रोमोसनका लागि त्यहाँ १० दिनसम्म रोड शो गर्नेछन् । वीबोको प्रयोगकर्ता चिनियाँ संस्कृतिसँग जोडएको टोपी पहिरिएकोमा आमिरको प्रशंसा गरिरहेका छन् । शिनजियाङका एक प्रयोगकर्ताले टोपीलाई सम्बन्धको प्रतिक भनी व्याख्या गरेका छन् ।