गोपीको उत्कृष्ट कवितालाई ३० हजार

काठमाडौं । आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धन गर्न फिल्म निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट कविता प्रतियोगिताको आह्वान गरेको छ । कम्पनीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सात जनाले जनही ५ हजार रूपैयाँको सान्त्वना पुरस्कार पनि पाउनेछन् ।

फिल्मका निर्देशक दीपेन्द्र लामाले प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरूले भाग लिन पाउने बताए । ‘प्रतियोगितामा उमेरको कुनै हदबन्दी छैन् । सहभागीले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ’, उनले भने ।

प्रतियोगितामा आएको कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने कम्पनीले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । निर्णायकद्वय उपेन्द्र र नवराजले यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उत्साह मिलेसँगै पछिल्लो समयमा कविताप्रति युवाहरूको रुचिमा थप टेवा पुग्ने बताए ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता छन् ।