कादर खानको अवस्था नाजुक

मुम्बई(एजेन्सी) । दमदार स्वर, जबरदस्त संवाद र उत्कृष्ट अभिनयले फिल्मी दुनियाँमा आफ्नो बेग्लै छाप छोडेका बलिउड अभिनेता कादर खानको अवस्था नाजुक बनेको छ । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षे अभिनेतालाई प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसअर्डर (पीएसपी) भएको चिकित्सकले बताएका छन् । यही कारण उनको दिमागले काम गर्न छोडेको छ ।

कादरका छोरा सरफराजले प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसअर्डरका कारण कादरको दिमागबाट शरीरमा चल्ने सबै अंगमा असर परेको बताए । उनका अनुसार कादरलाई सास लिन पनि समस्या भइरहेको छ । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ ।

एक समयको प्रभावशाली अभिनेता कादरले १० वर्षदेखि सिल्भर स्क्रिन र ग्ल्यामर संसारबाट विश्राम लिएका छन् । कादर लामो समयदेखि क्यानाडामा छोरा र बुहारीका साथ बस्दै आएका छन् । जहाँ उनको उपचार भइरहेको छ । कादरले सन् १९७३ मा आफ्नो करियर शुरु गरेका थिए । उनले लगातार ३ सय बढी फिल्ममा अहम भूमिका निभाइसकेका छन् । उनले २ सय ५० फिल्मको संवाद पनि लेखिसकेका छन् । सन् २०१४ मा बिरामी भए पनि उनले मक्का मदीनामा गएर हजको पवित्र यात्रा गरेका थिए ।