दिलिपकुमार र राजकुमार बन्दै सलमान–शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको सुपरहिट फिल्म ‘पद्मावत’ पछि निर्माता सञ्जयलीला भन्सालीले कुन फिल्म बनाउलान् भन्ने चासो बलिउडमा व्यापक थियो । तर अब यो चासोले सही उत्तर पाएको छ । किनकी भन्साली अभिनेताद्वय सलमान खान र शाहरुख खानलाई लिएर सन् ९० को दशकको सुपर ब्लकबस्टर फिल्म ‘सौदागर’ को रिमेक बनाउँदैछन् ।

कुनै समयमा दर्शकले अहिले पनि सम्झिइरहने फिल्म ‘करण अर्जुन’मा शाहरुख र सलमानको जोडी हिट भएको थियो । तर यो फिल्मपछि उनीहरूको सम्बन्धमा चिसोपन बढेको थियो । जसकारण उनीहरूलाई पुनः सँगै देखिने आशा नगरिइरहेको बेला यो जोडी ‘कुछ कुछ कुछ होता है’ र हाल रिलिज फिल्म ‘जीरो’मा सँगै देखिए ।

निर्देशक भन्सालीले सलमानसँग सन् १९९६ मा ‘खामोशीः द म्यूजिकल’ र शाहरुखसँग सन् १९९९ मा ‘देवदास’ जस्ता सम्झनलायक फिल्म दर्शकलाई दिएका छन् । समाचार अनुसार सलमान र शाहरुखलाई प्रयोग गरेर भन्सालीले उनीहरुको मित्रतासँगै शत्रुतालाई पनि पर्दामा उतार्नेछन् ।

सन् १९९१ मा सुभाष घईले बनाएको फिल्म ‘सौदागर’मा दिलीप कुमार र राजकुमारको दुश्मनीबाट बदलिएको दोस्तीलाई देखाइएको थियो । अब यही कथामा शाहरुख र सलमानलाई भन्सालीले ल्याउने तयारी गरिरहेका छन् ।