सम्झनाको गीतमा नजिक हुँदाको पीडा

काठमाडौं । मोडल तथा गायिका सम्झना राईको आधुनिक सेन्टिमेन्टल गीत ‘नजिकिनु सजिलो थियो’ को भिडियो सार्वजनिक भएको छ । गीतलाई एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मोडलिङमा सक्रिय हुँदै गायनमा आएकी सम्झनाको गीतमा दर्पण राईको शब्द छ । दर्पण पछिल्लो समय ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतको सिरिजमार्फत चर्चामा छन् । करिब एक वर्षयता मोडलिङसँगै गायनलाई अंगालेकी गर्दै आएकी सम्झनाले केही समयअघि एक गीत सार्वजनिक गरेकी थिइन् । सोही गीतमार्फत आफूलाई व्यवसायिक गायिकाजस्तै सांगीतिक क्षेत्रमा उभ्याउँदै आएकी हुन् । गीतमा महेन्द्र राईको संगीत छ ।

मन्द पपशैलीको यो गीत पछिल्लो युवापुस्ताले रुचाउने खालको बनेको छ । जसले गर्दा पनि गायिका तथा मोडल सम्झना आफ्नो यो पछिल्लो गीतप्रति आशावादी छिन् । गीतमा पछिल्लो सयम चर्चामा रहेका गिटारिस्ट सञ्जिव सुब्बाले लिड हालेका छन् । यो एउटा फरक किसिमको भिडियो हो । स्टुडियोमै खिचिएको यो भिडियोलाई अनिलकुमार मानन्धरले खिचेका हुन् ।