यसकारण निर्देशक बन्दैनन् शाहरुख

मुम्बई(एजेन्सी) । बलिउडका बादशाहका रुपमा परिचित शाहरुख खानले अभिनयदेखि प्रोडक्सनसम्मका सबै क्षेत्रमा आफ्नो प्रतिभा देखाइसकेका छन् । तर उनको गर्न बाँकी काम भनेको अब निर्देशन मात्र हो । अभिनयदेखि निर्मातासम्म सफलता पाइसकेका शाहरुख निर्देशक बनेको हेर्ने रहर उनका फ्यानमाझ व्यग्र छ । उनले फ्यानको यो प्रतिक्षालाई तुरुन्तै पुरा गर्न सक्ने अवस्था छैन । उनले छोरा अब्राहमलाई कारण देखाउँदै तुरुन्तै निर्देशन नगर्ने सोच बनाएका छन् ।

शाहरुख जसरी फिल्मको काम लगावले गर्छन् । त्यसरी नै उनी परिवारलाई पनि त्यस्तै लगावले समय दिन्छन् । त्यसकारण उनी फिल्मसँगै परवारलाई पनि विशेष प्राथमिकतामा राख्छन् ।

‘मसँग निर्देशक बन्नका लागि अहिले समय नै छैन । किनकी निर्देशकको काम निकै संवेदनशिल काम हो । म आफुलाई २ वर्षका लागि एउटा क्यामरामा कैद गर्न सक्दिनँ’, उनले भनेका छन्, ‘मेरा लागि निर्देशक बन्ने समय अहिले छैन । किनकी म सानो छोरा अब्राहमलाई पर्याप्त समय दिन चाहन्छु । म अब्राहमको बाल्यकालदेखिको बढ्दो अवस्थालाई गुमाउन चाहन्नँ । त्यसकारण पनि अहिले नै निर्देशक बन्ने सोचाई छैन ।’