ब्याटमेन बन्ने प्रियंका पति निकको चाहना

लसएन्जल्स(एजेन्सी) । हलिउड अभिनेता बेन एफ्लेकले हालै मात्र आफु ‘ब्याटमेन’को भुमिकामा आगामी फिल्ममा नदेखिने घोषणा गरेका थिए । ‘ब्याटमेन’को भुमिका पछिल्लो कैयौं दशकदेखि हलिउडको एक अहम सुपरहिरोको चरित्रको छ । क्रिस्टोफर नोलनजस्ता निर्देशकले पनि यो फिल्म बनाइसकेका छन् । बेनको घोषणा पछि कैयौं कलाकारको नाम शीर्ष भुमिकाका लागि आएको छ ।

यो नाममा बलिउड अभिनेत्री प्रियंका चोपडाका पति र संगीतकार निक जोनस पनि जोडिएका छन् । निक आफैले ब्याटमेनको भुमिका निभाउने इच्छा व्यक्त गरेका छन् । एक अन्तर्राष्ट्रिय पब्लिकेसनले सामाजिक सञ्जालमा ब्याटमेनको पोस्टर राख्दै अब नयाँ को स्टार राख्दा हुन्छ भनी सल्लाह मागेको थियो ।

मैट रिब्सद्वारा निर्देशत फिल्मको नयाँ संस्करणमा युवा ब्याटमेन फोकस गरिनेछ । त्यसका लागि निर्माताहरु युवा अनुहारको जोडतोडका साथ खोजी गरिरहेका छन् । यो फिल्म सन् २०२१ को जून २५ मा रिलिज हुनेछ ।

११ वर्ष अघि आएको फिल्म ‘डार्क नाइट’ लाई ‘ब्याटमेन’ सिरिजको सबैभन्दा सफल फिल्म मानिन्छ । यो फिल्ममा क्रिस्चिशन बेलले ब्याटमेनको भूमिका निर्वाह गरेका थिए ।