मन मगन यात्रामा दीपक बज्राचार्य

काठमाडौं । गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । उनको पछिल्लो लोकप्रिय गीत ‘मन मगन’ लाई शीर्षक राखेर रश लाइट मिडियाले आयोजना गर्न लागेको ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’मा उनले गीत गाउन लागेका हुन् ।
संस्थाका अनुसार आगामी माघ २६ गते शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा कार्यक्रम हुनेछ । ‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा गायक दीपकलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

संस्थाकी अध्यक्ष रमिता भण्डारीका अनुसार ‘मन मगन यात्रा’ भक्तपुरसँगै देशका प्रमुख सहरहरूमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख सहरपछि कार्यक्रमलाई अमेरिका तथा क्यानडाका सहरमा समेत सञ्चालन गरिनेछ । अमेरिका र क्यानडाको सांगीतिक कार्यक्रममा पनि दीपक र रिदम ब्याण्डले आफ्नो प्रस्तुति दिनेछन् ।

साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार दीपकका ‘काली काली हिस्सी परेकी’, ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘फर्केर आउने छैन’लगायतका दर्जनौं गीत चर्चित छन् । दीपकको पछिल्लो गीत ‘मन मगन’मा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । यो गीत विभिन्न भाषामा समेत छ ।

कार्यक्रममा वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशीसहित सम्मान गरिनेछ । त्यस्तै बालगायिका समिक्षा अधिकारी, रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग रागा तथा कपिल कसपालले पनि प्रस्तुति दिनेछन् । कार्यक्रमको उत्तराद्र्धमा डिजे तामाले दर्शक नचाउनेछन् ।

कार्यक्रममा कोरियोग्राफर तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा व्यवसायिक मोडलहरूले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गर्नेछन् । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरिने छ ।