पारिश्रमिक घटाउँदै रजनीकान्त

मुम्बई(एजेन्सी) । फिल्म उद्योगलाई दर्शकले बाहिरबाट जति ग्ल्यामर देख्छन् । यसको भित्री पक्ष उति नै निर्दयी छ । यहाँ हरेक कलाकारको भविष्य उसको आगामी रिलिज हुने फिल्मले तय गर्छ । यो सत्यताबाट दक्षिण भारतीय सुपरस्टार रजनीकान्त पनि अछुतो छैनन् । स्वदेशदेखि विदेशसम्म करोडौं फ्यान कमाईसकेका रजनीकान्त यति धेरै फ्यान भए पनि आफ्नो पारिश्रमिक घटाउन बाध्य भएका छन् ।

समाचार अनुसार रजनीकान्त यसै वर्षको मार्चबाट आफ्नो नयाँ फिल्मको काम सुरु गर्दैछन् । जसको निर्देशन एआर मुर्गडास गर्दैछन् । रजनीकान्तले यो फिल्मका लागि निर्मातालाई ९० दिनको समय दिएका छन् । फिल्मलाई लाइका प्रोडक्सनले सहयोग गर्दैछ । यो फिल्मले रजनीकान्तको ‘२.०’को पनि निर्माण गरेको थियो ।

फिल्म ‘२.०’ ठूलो बजेटको फिल्म थियो । फिल्मले बक्स अफिसमा धमाकेदार आँकडा दर्ता गरे पनि यो फिल्मलाई निर्माताहरुले फाइदाजनक फिल्म मानेनन् । किनकी यसको कमाई सोचे अनुरुप भएन । यही कारण रजनीकान्तले नयाँ फिल्मका लागि पारिश्रमिक घटाउने निर्णय लिएका छन् । तर उनले कति पारिश्रमिक लिनेछन् भन्ने निश्चित भइसकेको छैन ।

रजनीकान्तको नयाँ फिल्म एक राजनीतिक कथाको हुनेछ । फिल्मका बाँकी कलाकार फाइनल भइसकेका छैनन् । फिल्मको सुटिङ हुनु अघि मात्र बाँकी कलाकारको घोषणा गरिनेछ । रजनीकान्तको पछिल्ला तीन फिल्म ‘पेट्टा’, ‘काला’ र ‘२.०’ ले बक्स अफिसमा एक हजार करोड बढीको कारोबार गरेको थियो ।