पुरानो बुलेटमा फरक अनुपविक्रम

काठमाडौं । आगामी चैत्र १ बाट प्रदर्शनमा आउने फिल्म ‘पुरानो बुलेट’को तीन फस्र्टलुक सार्वजनिक भएको छ । पत्रकार भीषण राईको ‘डेब्य’ निर्देशन रहेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु फिचर्ड छन् । पोस्टरमा अनुपविक्रम लामो कपाल, त्यसमाथि रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् ।

वर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको ‘खलपात्र’को लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा (भिलेन टर्न हिरो) गर्दै अघि बढेका छन् ।

फिल्मको फेब्रुअरी २३ तारिखमा हङकङमा वल्र्ड प्रिमियर हुँदैछ । प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ । फिल्ममा अनुप, वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईलगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।