हङकङमा पपुलर विधाको अवार्ड

काठमाडौं । हङकङमा सन् २०१९ को जुनमा ‘एभरेष्ट इन्टरनेसनल फिल्म अवार्ड २०१९’ हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको अवार्डमा २० विधामा कलाकार तथा प्राविधिकलाई ‘पपुलर अवार्ड’ प्रदान गरिनेछ ।

अवार्डमा तीन विधा आदिवासी फिल्मको पनि हुनेछ । साथै एक फिल्मकर्मीलाई ‘लाइफ टाइम अचिभमेन्ट’द्वारा सम्मान पनि गरिनेछ । हङकङको वानचाईस्थित क्विन एलिजावेथ स्टेडियम हलमा हुने अवार्डको मनोनयन आगामी मार्चमा सार्वजनिक गरिनेछ । जुरीको संयोजक अभिनेता सुनिल थापा छन् ।

अवार्डका कार्यक्रम संयोजक मनोज केसीले सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरूले अवार्डमा सहभागिता जनाउने बताए । ‘यो अवार्ड मेरो लागि अवसरसँगै चुनौती पनि हो । पछिल्ला कमी कमजोरीलाई हटाउँदै काम गर्नुपर्नेछ’, मनोजले भने, ‘हाम्रो दायित्व भनेको समायोजनको मात्र रहेको छ । यसैले गर्दा पनि जुरीमार्फत आएको उत्कृष्ट ५ मा पर्ने प्रतिष्पर्धीलाई हङकङ लैजानेछौं । अवार्डमा सहभागिता जनाउन चाहने फिल्मकर्मीले सन् २०१८ मा रिलिज भएका आफ्ना फिल्मलाई सहभागी गराउन आव्हान गर्दछु । उहाँहरूले अवार्डको फर्म भर्न पैसा तिर्नुपर्दैन् ।’ मनोज अध्यक्ष रहेको संगीक्षा फिल्मस्ले नेपालको व्यवस्थापन हेर्नेछ ।

कार्यक्रममा ‘मिस नेपाल हङकङ’ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुले अवार्डमा कुनै हस्तक्षेप नगर्ने दाबी गरे । हङकङको आयोजक समूहमा लिम्बुसहित स्थानीय वकिल तथा व्यवसायी गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटीकी उपाध्यक्ष लिलेश्वरी खड्का, योगा प्रशिक्षक तथा व्यवसायी सञ्जु भट्ट, मिस नेपाल हङकङ सोसाइटीकी संयोजक शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सचिव मनिष लिम्बु, लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ, रेविका राई, विष्णु पुन र राकेश लिम्बु छन् ।