शिल्पाबाट फर्किएलान भोला ?

काठमाडौं । अष्ट्रेलिया जान नक्कली कागजात तथा नक्कली विवाह गर्ने प्रचलनलाई व्यंग्य गर्दै निर्माण गरिएको फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पात्रको विदेश मोह र विदेश जानका लागि उनीहरुले अपनाउने अनेक हतकन्डालाई देखाइएको छ ।

ट्रेलरमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटालगायत फिचर्ड छन् । चैत ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा नाजिर र शिल्पा तथा सरिता र भोलाको जोडी देखाइएको छ । विदेश जानका लागि शिल्पाले भोलासँग जोडी बाध्दा भोलाकी श्रीमति बनेकी सरिताले शिल्पालाई पति फर्काउन गरेको आग्रह रोचक लाग्न सक्छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल विष्टको लेखन तथा निर्देशन छ ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।