काठमाडौं । निर्देशक नरेशकुमार केसीद्वारा निर्देशित फिल्म ‘डाइङ क्यान्डल’ले राजधानीमा सोमबार सम्पन्न ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘उत्कृष्ट कथा फिल्म’को अवार्ड हात पारेको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट यो फिल्मलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ५० हजार रुपैंयाँसहित अवार्ड प्रदान गरे । निर्देशक केसीले नै ‘उत्कृष्ट कथा निर्देशक’को समेत अवार्ड पाए ।
महोत्सवमा निर्देशक शिवम् अधिकारी निर्देशित ‘पञ्चायत’ले ‘उत्कृष्ट स्क्रीन फिल्म अवार्ड’ पाउँदा शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्देशित सर्ट फिल्म ‘सुपरमोङक’ सर्ट फिल्मतर्फ उत्कृष्ट भयो । यस्तै सर्ट फिल्मबाट ‘उत्कृष्ट निर्देशक’को अवार्ड फिल्म ‘मदर’ का लागि निर्देशक परिच्छेद सेनले पाए ।
यसैगरी अन्तर्राष्ट्रियतर्फ सर्ट फिल्ममा बंगलादेशको ‘मिन अल्याप’ उत्कृष्ट भयो । सुवर्ण सेन्जुटि तुल्सीद्वारा निर्देशित उक्त फिल्मले ५० हजार रुपैंयाँ प्राप्त गरेको थियो । यस्तै उत्कृष्ट कथा फिल्म सिङ्गापुरको ‘द ल्याण्ड इमेज’ले प्राप्त गरेको छ ।
महोत्सवको समापनमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताए । नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताए । पाँच दिनसम्म राष्ट्रिय सभागृहमा सञ्चालन भएको महोत्सवमा नेपालसहित बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्सलगायत ३० देशका छोटा र लामा फिल्मले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनले विभिन्न ६ सय फिल्मबाट ६० वटा उत्कृष्ट फिल्मलाई प्रदर्शनमा राखिएको बताए ।