जात्रैमा भेटिए साईनोका राज र मिरुना

काठमाडौं । आगामी वर्षको जेठ १० गते रिलिज हुने फिल्म ‘साईनो’ को पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरियो ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा फिल्मका कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्कीको शब्द गीतमा छ ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्ममा रमेश थापाको निर्देशन छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिष शाहको सम्पादन र रोशन विक्रम भट्टराईको द्वन्द्व छ ।