सेनिटेसन प्याड बाड्दै प्रियंका–आयुष्मान

काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरू महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठबीच भएको सहमति अनुसार उनीहरूलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्दै महिलाहरूले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरूको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन् ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए ।

कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन ठाउँ ठाउँमा खटेर आफैं लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा उनीहरुले धनुषा जिल्लाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन् । उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीहरुलाई सेनिटेशन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।