भदौमा दर्शकलाई दयाहाङको नीरफूल

काठमाडौं । सञ्चारकर्मी फूलमान वलद्वारा निर्देशित फिल्म ‘नीरफूल’ आगामी वर्षको भदौ २७ गते रिलिज हुने भएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । एक बर्ष अघि नै छायांकन सकिएको भए पनि एनिमेसन र भिएफएक्सका कारण पोस्ट प्रोडक्शन लम्बिएको निर्देशक वलले जनाए ।

फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले २०७२ को महाभूकम्पको पृष्ठभुमिमा राज्य प्रणालीको भष्टता पनि औंल्याउन खोजिएको बताए ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शामी र मनोज राठी रहेका छन् ।