अमेरिकामा गुन्जिए मुरलीधर

काठमाडौं । ‘उडायो सपना सबै हुरीले’, ‘तिम्रा लागि सारा जीवन तोडी दिएँ’ जस्ता कर्णप्रिय एवं कालजयी गीतका गायक मुरलीधर को अमेरिकास्थित कोलोराडोमा एकल साँझ सम्पन्न भएको छ । ‘दर्पण छाया २’का निर्माता तथा समाजसेवी रवि कार्कीको आयोजना मा भएको कार्यक्रममा मुरलीधरको गायनलाई कुशल तबलाबादक नवीन श्रेष्ठ ,गितारिष्ट प्रभात मानन्धर र संगीतकार सुरेश चंद्र प्रधानले साथ दिएका थिए ।

उक्त कार्यक्रममा कोलोराडोका अधिकांश संगीत प्रेमी नेपाली एवं भूटानी समुदाय नेपालीको जमघट भएको थियो । उक्त कार्यक्रममा निर्माता तथा समाजसेवी कार्कीले नेपाली सुगम संगीतका एक युगका युगपुरुष तथा गायक र कलाकार मुरलीधरलाई उभ्याउन पाउँदा खुशी लागेको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष एवं कलाकार कृष्णमुरारी ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार ,गीतकार अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाजका पुर्व अध्यक्ष ज्ञानेंन्द्र गदालले गायकका बारेमा बोलेका थिए ।

कोलोराडोका लागि पर्यटनदूत साबु गदाल कार्कीले नेपाली तथा हिन्दी फिल्ममा समेत आफ्नो कुशल अभिनयद्वारा लोकप्रियता हासिल गरेको र सुमधुर एवं कर्णप्रिय स्वरका माध्यमबाट नेपाली गीतगजल गायनमा एउटा विशिष्ट छाप छोडेकोमा उनको योगदानको कदर गर्दैै मुरलीधरलाई सम्मान गरिएको थियो ।