नरेश र श्यामलाई चलचित्र पत्रकारिता सम्मान

काठमाडौं । चलचित्र पत्रकार संघले पत्रकारद्वय नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’बाट सम्मानित गर्ने भएको छ । संघको कार्यसमितिको बुधबार बसेको बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिदै आएको राष्ट्रिय सम्मान यसपटक नरेश र श्यामलाई प्रदान गर्न लागेको हो ।

चलचित्र पत्रकार संघ नेपालका सदस्य भट्टराई इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत छन् । त्इस्तै श्याम भिजनसंसार डटकमका सम्पादक हुन् । यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै बैठकले संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै फोटो पत्रकारका रुपमा स्थापित विनोदलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते २०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा यी सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।