समय बजिमा नेवा सुन्दरीको चासो

काठमाडौं । एनटिसी मिस नेवाः ११३९ का प्रतिस्पर्धीहरुले गत बुधबार नेवारी परिकार बनाएका छन् । पाटनस्थित ज्यापू समाजमा मिस नेवाः का प्रतिस्पर्धिहरु मिस नेवाः को समय बजि कार्यक्रममा सहभागी भएका हुन् ।

समय बजि अर्थात नेवार समुदायले कुनै विशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउने बजि अर्थात चिउरासंग अन्य धेरै परिकारहरु जस्तै छोयला, आलु, अचार, भटमास, बारा, साग, अदुवा, बोडीका साथै अन्य परिकारहरुलाई सजाएर लप्टे (पातको थाल) मा राखि पस्कनुलाई भनिन्छ ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार प्रतियोगिताका किशोरी तथा युवती प्रतिस्पर्धिहरु आफैंले ती नेवारी परिकारहरु बनाएका हुन् । नेवारी परिकार बनाउने क्रममा प्रा.डा.बिमला शाक्यले प्रतिस्पर्धिहरुलाई ती परिकार बनाउने शैलीका बारेमा जानकारी गराएकी थिइन् ।

आयोजक संस्थाले मिस नेवाः का प्रतियोगिहरुलाई विभिन्न समुहमा विभाजन गरेर छुट्टा–छुट्टै परिकार बनाउन लगाएको थियो । त्यसक्रममा प्रतिस्पर्धिहरुले आलुदेखि छोयलासम्मका परिकारहरु आफैंले बनाएर उपस्थित पाहुनाहरुलाई खुवाएका थिए ।

मध्यान्नदेखि नै नेवारी परिकारहरु तयार पार्न व्यस्त भएका मिस नेवाः का प्रतिस्पर्धिहरुले नेवारी परिकार बनाउन जान्ने सिप सिकाएको आयोजक संस्थालाई धन्यवाद दिएका थिए । पिकनिकको शैलीमा सञ्चालित कार्यक्रममा कतिपय सहभागिहरुले यसअघि नै समय बजि बनाएको बताएका थिए भने कतिपयले पहिलो पटक समय बजि बनाइरहेको धारणा व्यक्त गरेका थिए ।

१४ औं संस्करणको मिस नेवाः को फिनाले जेठ ३२ गते शनिवार प्रज्ञा भवन, कमलादीमा सञ्चालन हुँदैछ । यसपटकको प्रतियोगितामा नेवार समुदायका १७ जना युवतीहरुले भाग लिएका छन् ।