‘दयाहाङ र तुलसीको नाम बेच्न आप्पा बनाएको होइन’

काठमाडौं । बाबु र छोराको कथा बोल्ने फिल्म ‘आप्पा’ आगामी असार १३ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । अनमोल गुरुङको डेब्यू निर्देशकीय यो फिल्ममा दयाहाङ राई र तुलसी घिमिरेजस्ता अब्बल कलाकारको अभिनय दर्शकले हेर्न पाउनेछन् ।

फिल्मका निर्देशक अनमोल कथाको माग अनुसार नै दयाहाङ र तुलसीलाई फिल्ममा लिएको बताउँछन् । ‘मैले दयाहाङ राई र तुलसी घिमिरेको नामलाई बेच्नलाई फिल्म बनाएको होइन । फिल्मको कथा भन्नका लागि उहाँहरु जस्तो कलाकारलाई अभिनय गराएको हो’, अनमोलले भने ।

कलाकार तुलसी घिमिरेले अनमोलसँग काम गर्दा अनुशासनमा बसेर काम गर्नुपरेको खुलाए । उनले एउटै दृश्यका लागि आफूले सर्वाधिक १७ टेक खानु परेको बताए । नवनायक सिद्धान्तराज तामाङ र नायिका अल्लोना काबो लेप्चाले वरिष्ठ कलाकारसँग काम गर्दा राम्रो अनुभव भएको खुलाए ।

फिल्ममा दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । ए माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी छ ।फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् ।

फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।