काठमाडौं । आधा दर्जन नाटकको निर्देशन र आधा दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता खगेन्द्र लामिछाने अब फिल्म निर्देशक बन्ने भएका छन् । झण्डै नौ वर्ष अघि आरोहण गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले आफ्नो निर्देशनमा फिल्ममा उतार्न लागेका हुन् ।
राजधानीमा आइतबार पत्रकारमाझ उनले आफै लिखित नाटकलाई फिल्मको स्वरुप दिन लागेको बताए । ‘नाटकको कथालाई फिल्म बनाउने मेरो सपना नै थियो । यो नाटक हेरेका दर्शकको आँखामा मैले एक किसिमको उत्साह देखेको थिएँ । त्यही उत्साहले मलाई फिल्म बनाउने प्रेरणा दियो’, उनले भने, ‘यो कथामा मेरो बाल्यकाल पनि जोडिएको छ । मैले बाल्यकालको घटनालाई द्वन्द्वसँग जोडेर कथा लेखेको छु ।’ उनका अनुसार फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाबुआमाको कथा देखाइनेछ ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्य निर्माता छ । सन् २०२० मा रिलिज हुने फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, निशा शर्मा पोखरेल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतको अभिनय रहनेछ । सुनिल र अनुपबाट नै खगेन्द्रले अभिनय सिकेका हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।