डेढ दशकपछि भुवन केसी मिष्टर नेपाली

काठमाडौं । झण्डै डेढ दशक अघि दर्शकमाझ ‘नेपाली बाबु’ बनेर आएका अभिनेता भुवन केसी अब ‘मिस्टर नेपाली’ बन्ने भएका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको सोमबार घोषणा गरिँदा फिल्मका प्रमुख कलाकारमा भुवन केसी र रिमा विश्वकर्माको जोडीलाई चिनाइयो । प्रेमराज दाहालको निर्माण र देवनारायण भुषालको लेखन तथा निर्देशनमा बन्ने फिल्मको सोमबारबाटै नवलपरासीबाट छायांकन सुरु हुने जानकारी दिइयो ।

फिल्ममा भुवन नायक र खलनायक गरी दोहोरो चरित्रमा देखिदैछन् । ‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक यो फिल्ममा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ’, उनले भने । नायिका रीमा विश्वकर्माले नायक भुवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको सुनाइन् ।

फिल्ममा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । फिल्ममार्फतसाहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा ‘डेब्यू’ गर्दैछन् ।

फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।निर्देशक भुषालले फिल्मले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्ने बताए । ‘यो विशुद्ध मनोरञ्जनात्मक फिल्म हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’ उनले भने ।