सेलिब्रेटीले रुचाए सानो मन

काठमाडौ । गत साता रिलिज भएको नेपाली फिल्म ‘सानो मन’ले बिहिबार राजधानीमा सेलिब्रेटी शो आयोजना गरेको छ । उक्त शोमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा बिश्वकर्मा, निर्देशक दीपाश्री निरौला, अभिनेता दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, अर्जुन घिमिरे ’पाँडे’, कुमार कट्टेल ’जिग्री हजुर’, दीपक आचार्य लगायतको उपस्थिती रहेको थियो ।

फिल्म हेरेपछि उपस्थित सबैले तारिफ गरेका छन् । फिल्मको छायांकन तथा प्रस्तुतीलाई उनिहरुले रुचाएको बताए भने फिल्मले आफुहरुलाई रुवाएको समेत बताए । नायिका नम्रता श्रेष्ठले फिल्म एकदमै मिठो लागेको बताईन् ।  नायिका केकी अधिकारीले यो टीमबाट यति धेरै अपेक्षा नगरेको तर त्यसबारेमा आफु गलत साबित भएको बताईन् । उनले नेपाली फिल्मबाट धेरै नै आशा राख्ने दर्शकलाई सानो मन हेर्नको लागि अनुरोध गरिन् । नायिका रीमा बिश्वकर्माले फिल्म हेर्दा हेर्दै अन्त्यतिर आफु रोएको बताईन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्मका कलाकारहरुको प्राकृतिक सुन्दर अभिनय देखेर लोभ लागेको बताईन् । कलाकार केदार घिमिरेले ’सानो मन’ फरक कथामा सुन्दर अभिनय रहेको फिल्म बनेको बताए । ’फिल्मको अन्त्यतिर आँशु आयो । एकदमै मन छुने खालको फिल्म छ । सबैको सुन्दर अभिनय छ’ उनले भने । अभिनेता दीपक राज गिरीले फिल्मको सबैभन्दा राम्रो पक्ष यसको प्रस्तुती रहेको बताए । ’छायांकन पक्ष एकदमै सुन्दर छ । प्रेमकथा हेर्ने दर्शकको लागि राम्रो रोजाई हुनसक्छ । धेरै नेपाली फिल्म भन्दा यो राम्रो छ’, फिल्म हेरेपश्चात गिरीले बताए ।

सुयोग गुरुङ्गले निर्देशन गरेको ’सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ ।