काठमाडौं । अभिनेता आर्यन सिग्देल आम दर्शकमाझ ‘चकलेटी लभरब्वाई’का रुपमा परिचित छन् । अधिकांश फिल्ममा लभरब्वाईका रुपमा देखिएका आर्यनले फिल्मपिच्छे आफ्नो चरित्र बदल्न नचाहेको होइन् । तर निर्माता, निर्देशकले उनलाई लभरब्वाईबाट उम्कन दिएनन् ।
फिल्मी करियरमा फरक लुक्समा देखिन चाहने आर्यनले फिल्म ‘होमवर्क’मा एकसाथ वृद्ध र युवा चरित्र निभाए । फिल्म व्यावसायिक रुपमा असफल भए पनि आर्यनले कामको तारिफ भने राम्रै पाए । यिनै आर्यन आगामी साउन ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘हजार जुनीसम्म’मा दुई रुप अर्थात् युवा र बुढ्यौली गेटअपमा देखिँदैछन् ।
‘मलाई पहिला देखि नै फिल्ममा पाको चरित्रमा देखिने ठूलो रहर थियो । फिल्म ‘होमवर्क’ र ‘हजार जुनीसम्म’बाहेक अन्य फिल्मको स्क्रिप्टले मलाई कहिल्यै पाको उमेरमा रुचाइदिएनन्’, आर्यन भन्छन्, ‘हजार जुनीसम्ममा जीवनको पीडाले पाको भएको चरित्र निर्वाह गरेको छु । यो चरित्रमा मेरा लागि पनि एउटा प्रयोग हो ।’
आर्यन अझै पनि अफर आए बुढ्यौली चरित्र निर्वाह गर्न तयार छन् । ‘यो फिल्ममा निर्देशक विकासराज आचार्य दाईले मलाई बुढ्यौली चरित्रको अफर गर्दा म उत्साहित भएको थिएँ । मैले कत्तिको मेहनत गरेको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, आर्यन भन्छन् ।
निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, संचिता लुइँटेल, अनुभव रेग्मी र नवनायक अखिलेश प्रधानको अभिनय छ । फिल्ममा कविता रेग्मी कार्यकारी निर्माता र विशाल चाम्लिङ निर्माता छन् ।