नेपाली पानीजहाजमा साम्राज्ञी–अंकितको मायालु गीत

काठमाडौं । दशैंमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ को पहिलो रोमान्टिक गीत ‘मेरो माया के हो ?’ सार्वजनिक भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् ।

सिन्धुली बर्दिवास राजमार्ग, बराह क्षेत्रलगायतका सुन्दर लोकेसनमा खिचिएको गीतको एक दृश्यमा साम्राज्ञी र अंकित बराहक्षेत्रमा सञ्चालित नेपाली पानीजहाजमा रोमान्टिक मुडमा देखिएका छन् ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा किरन शर्मा र कृति शर्माको लगानी छ । किरन अशोकको पत्नी, कृति छोरी र अंकित छोरा हुन् ।