काठमाडौं । यो शुक्रबार अर्थात् भदौ २० बाट फिल्म ‘सोच’ सोलो प्रदर्शन हुँदैछ । पूजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशन रहेको फिल्म देशभरका झण्डै ६ दर्जन हलमा एकल प्रदर्शनमा उत्रँदैछ । फिल्ममा नवनायक पूजनका साथमा प्रज्वल गिरी, नीता ढुंगाना, बिशाल पहाडी,सोनीका बास्तोला,किरण थापा,रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।
फिल्म रिलिजको पूर्वसन्ध्यामा निर्माण पक्षले बिहीबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना ग¥यो । कथाकार तथा निर्देशक सिंहले मेची–महाकाली यात्राका क्रममा फिल्मको कथा फुरेको खुलाए । ‘त्यो यात्रामा धेरै स्थानमा नकारात्मक सोचका कारण महिला–महिलामा लडाई झगडा भएको, अर्काको घर भाड्ने गरेको देखें,’ उनले भने, ‘त्यो घटना देखेपछि मैले सकारात्मक सोच राख्यो भने समाज राम्रो बन्न सक्छ भन्ने विषयलाई फिल्ममा सन्देशमूलक तरिकाले प्रस्तुत गर्ने निर्णय लिएँ । त्यसै अनुसार फिल्म बनाएँ ।’
फिल्मकी निर्मात्री गंगा रजकले फिल्मप्रति आफू आशावादी रहेको बताइन् । ‘सोचको ट्रेलर र गीतबाट जुनकिसिमको प्रतिक्रिया पाएका छौ, त्यसले हामीलाई अझ आशावादी बनाएको छ ।’ उनले फिल्मले पारिवारिक माहौलको कथा बोल्ने बताइन् । अभिनेता बिशाल पहाडीले ‘सोच’ मा आफू नकारात्मक भूमिकामा रहेको खुलासा गरे । ‘म नकारात्मक भूमिकामा छु,’ उनले भने, ‘मेरो चरित्रलाई परिस्थितिले नेगेटिभ थटको बन्न बाध्य बनाउछ ।’ उनले फिल्म राम्रो बनेकाले सबैले एकपटक हेर्नुपर्ने जिकीर गरे ।
‘सोच’ रिलिजभन्दा केही दिनअघि अभिनेता प्रज्वल गिरी सपरिवार अमेरिका उडे । अभिनेत्री नीता ढुंगाना भने सम्पर्कमै आइनन् । तर पनि निर्माण पक्षले उनीहरुप्रति कुनै गुनासो गरेको छैन । ‘उहाँहरु जहाँ भए पनि आफ्नोतर्फबाट साथ दिनुभएको छ ।’ निर्देशक पूजनले भने । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मको पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् भने फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । बिदुर पाण्डेले खिचेको फिल्मको बितरण आरआर फिल्मस्ले गरेको हो ।