प्रभास र राजामौलीको सम्बन्ध संकटमा

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार तथा फिल्म ‘साहो’ अभिनेता प्रभास र प्रभासलाई बाहुबलीका रुपमा दर्शकमाझ चिनाउने निर्देशक एसएस राजामौलीबीचको सम्बन्ध संकटमा परेको छ । प्रभासलाई दक्षिण भारतीय फिल्म उद्योगमा सुपरस्टार बनाउन प्रमुख भूमिका खेल्ने राजामौलीको प्रभाससँग फिल्म ‘साहो’ पछि सम्बन्ध संकटमा परेको हो ।

प्रभासलाई फिल्मी करियरको शुरुवाती समयमा राजामौलीले आफ्नो फिल्म ‘छत्रपति’बाट चिनाएका थिए । त्यसपछि उनलाई ‘बाहुबली’ र यसको सिक्वेलले नयाँ पहिचान दियो । केही समय अघि प्रभासले राजामौलीलाई ‘साहो’ देखाएका थिए । त्यसबखत राजामौलीले फिल्म निर्मातालाई फिल्मको समयावधि घटाउन सुझाव दिएका थिए । तर यो सुझावलाई प्रभासले मानेनन्, जसकारण दुवैको सम्बन्धमा दरार शुरु भयो ।

समाचार अनुसार प्रभासले ‘बाहुबली’को छविबाट बाहिर निस्कनका लागि नै ‘साहो’ रोजेका थिए । त्यसकारण पनि आफूलाई ‘बाहुबली’को जस्तै क्रेज बनाउनका लागि नयाँ निर्देशकसँग काम गर्ने निर्णय लिएका थिए ।