दर्शकमाझ चिनिने दाउमा साहिल–कुसुम

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’बाट दुई कलाकार साहिल श्रेष्ठ र कुसुम राउत नेपाली रजतपटमा डेब्यू गर्दैछन् । देव भुषालले निर्देशन गरेको फिल्ममा अभिनेता भुवन केसी दोहारो भूमिकामा छन् । जसमा उनी एक भिलेन चरित्रमा छन् ।

निर्देशक भुषालले फिल्ममा भुवन केसीको चर्चा भए पनि फिल्म साहिल र कुसुमकै वरिपरी घुमेको बताए । फिल्म क्षेत्रमा भित्रिने नयाँ अनुहारका लागि डेब्यू फिल्म सफल हुन आवश्यक छ । साहिल र कुसुम पनि यो फिल्मबाट दर्शकमाझ चिनिने दाउमा छन् ।

अमेरिकाबाट फर्किएका साहिलको सेरोफेरोमा घुमेको फिल्मबाट कुसुम पनि आशावादी छिन् । डेब्यू फिल्म सफल भएको खण्डमा कलाकारका लागि धेरै फाइदा हुन्छ । यो फिल्मले विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको छ ।

राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज फिल्म भएको निर्देशक भुषालको दाबी छ ।