प्रेमको हावाले के गर्यो लभ यु हमेशा जोडीलाई

काठमाडौं । आगामी मंसिर १३ गतेबाट रिलिज हुने फिल्म ‘लभ यु हमेशा’को नयाँ गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक भएको छ । गीतमा यशराज र ऋचा थापा फिचर्ड छन् । भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको गीत सुधीर राई र मेलिना राईले गाएका हुन् । भासुको शब्द र संगीत रहेको गीत फिलिपिन्सको समुन्द्री तटमा खिचिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत प्रेमाभावले प्रेरित छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मले स्वदेशमा पनि दर्शकको मन जित्ने विश्वास निर्माता यवनले ब्यक्त गरे । अभिनेता यशराजले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए । कार्यक्रममा उनले सुटिङका क्रममा विविध रमाइला पलहरु सुनाएका थिए । अभिनेता ऋचाले पनि आफू यो फिल्मबाट ठूलो आशा राखेको बताइन् । उनले दार्जिलिङ रिलिजमा दर्शकले फिल्म निकै मन पराएको प्रसंग उल्लेख गरिन् भने अर्की अभिनेत्री फिजा योञ्जनले फिल्म हेरेका दर्शकले निकै राम्रो कमेन्ट गरेकाले खुशी लागेको बताइन् ।

फिल्मका वितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘लभ यु हमेशा’प्रेमकथा मन पराउने सबैका लागि सुन्दर फिल्म बनेको बताए । उनले आफूहरूले यो फिल्म धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्न लागिपरेको सुनाए । शिव ढकालले खिचेको फिल्ममा यशराज गरच, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), शिशिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका विभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा कमल राई र रामजीको कोरियोग्राफी छ । फिल्ममा मिलन गुरुङ सहनिर्माता छन् ।