संगीतमा पूजाको रहर

काठमाडौं । गायिका पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा गत शुक्रबार एक कार्यक्रमबीच संगीतकार तथा संगीतकार संघ नेपालका प्रथम(पूर्व) अध्यक्ष लक्ष्मण शेषलगायतले एल्बम सार्वजनिक गरे ।  डस म्यूजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र ‘नामसेवाइ’ बोलका गीत छन् ।

गीतमा दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ भने दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन’ मा गायक डेभिड शंकर र ‘यो मौसम’मा गायक राजेशपायल राईको स्वर पनि सुन्न सकिन्छ ।

कार्यक्रममा ‘हुन्छ भनन’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय हेर्न पाइन्छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ ।

नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा स्वर दिइसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो ।