काठमाडौं । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको अफेयरको चर्चा फिल्मी क्षेत्रमा पुरानै हो । यो जोडी वास्तविक जीवनमा आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेका छैनन् । वास्तविक जीवनमा श्रीमान श्रीमति हुन नपाए पनि फिल्मको पर्दामा भने यो जोडी श्रीमान श्रीमतिका रुपमा दर्शकमाझ आउने भएका छन् ।
सरोगेसी अर्थात् भाडाको कोखको कथामा आधारित नयाँ फिल्म ‘माइकल अधिकारी’मा यो जोडी श्रीमान श्रीमतिको रुपमा देखिन लागेका हुन् । माघे संक्रान्तिको अवसर पारी बुधबार झापाको बिर्तामोडबाट फिल्मको छायांकन सुरु भएको छ ।
रञ्जित रौनियारले निर्देशन गर्ने फिल्ममा सौगात र सृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने फिल्ममा उद्धव पौडेल प्रस्तुतकर्ता र निरक पौडेल निर्माता छन् । फिल्ममा राजुबिक्रम थापाको छायांकन, निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
झापा र इलाममा छायांकन गरिने फिल्म ३५ दिनमा प्याकअप हुनेछ । कमेडी जनरामा बन्ने फिल्ममा अभिनेता सौगातले आफ्नो चरित्र अहिलेसम्मकै भिन्न भएको बताए । त्यस्तै सृष्टिले फिल्मबाट आफुले काम देखाउने अवसर पाएको बताइन ।