छायांकनमा अनमोल–सुहानाको ए मेरो हजुर ४

काठमाडौं । ब्लकब्लष्टर फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिज ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने फिल्ममा सलोन बस्नेतको पनि अभिनय हुनेछ । शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

पुजामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापालगायतको उपस्थिति रहेको थियो । निर्देशक झरनाका अनुसार पोखरामा १० र काठमाडौं र ललितपुरमा ३० दिने छायांकन सेड्युल तय गरिएको छ ।

फिल्मको गीत अमेरिका, युरोप र ओमानमा पनि खिचिनेछ ।  सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको फूलपातीमा रिलिज हुँदैछ ।

फिल्मका अघिल्ला दुई संस्करण ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा झरनाकै निर्देशन थियो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भए । अघिल्लो फिल्म ‘ए मेरो हजुर ३’मा पनि अनमोल र सुहानाकै जोडी थियो ।