काठमाडौं । आगामी वर्षको फूलपातीमा रिलिज गर्ने घोषणासहित छायांकन सुरु भएको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन बीचमै रोकिएको छ । कोरोना भाइरसका कारण केही दिनदेखि काठमाडौंमा छायांकनरत फिल्मको सुटिङ शुक्रबारबाट रोकिएको हो । अनमोल केसी र सुहाना थापा स्टारर फिल्ममा सुहानाकी आमा तथा अभिनेत्री झरना थापाको निर्देशन छ ।
झरनाले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै फिल्मको छायांकन रोकिएको जानकारी दिएकी हुन् । ‘मानव जातिलाई नै चुनौती बनिरहेको कोरोना संक्रमणबाट बच्न, सतर्कता अपनाउन हामी सबै एकजुट हुनैपर्छ । यसबाट कलाकार, प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति हामी सजग छौं । आफ्नो स्वस्थ र जीवनभन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौं,’ झरनाले लेखेकी छन् ।
पोखरामा छायांकन सकेर फिल्म युनिट केही समय अघि राजधानी आएको थियो । पोखरामा फिल्मको ४० प्रतिशत छायांकन पुरा भइसकेको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ ।