अगष्ट पुग्यो वन्डर वुमन १९८४

लसएन्जल्स(एजेन्सी) । डीसीको कमिक क्यारेक्टर ‘वन्डर वुमन’को नयाँ भर्सन ‘वन्डर वुमन १९८४’ को रिलिज मिति कोरोना भाइरसको प्रकोपका कारण सरेको छ । यो फिल्म सन् २०१९ को जुन ५ मा रिलिज हुने पूर्व योजना भए पनि जुनबाट डिसेम्बरमा सरेको थियो । जुनमा हलिउड फिल्म ‘स्टार वार्सः दी राइज अफ स्काइवकर’ रिलिज हुने पछि ‘वन्डर वुमन १९८४’ डिसेम्बर पुगेको थियो । फिल्म निर्माण कम्पनीले कोरोना भाइरसको प्रकोपका कारण धेरै थिएटर बन्द रहेको र अधिकांश राज्यमा लकडाउन रहेकोले फिल्म सारिएको बताएको छ ।

‘हामीले वन्डर वुमन १९८४ ठूलो पर्दाका लागि बनाएका हौं । म फिल्मको शक्ति कस्तो हुन्छ भन्नेमा विश्वास राख्छु’, फिल्मका निर्देशक पेटी जेन्किन्सले ट्वीट गरेका छन्,‘यस डरलाग्दो अवस्थामा धेरै थिएटरका मालिकहरु यो अवस्थाबाट कसरी बाहिर निस्कने भन्ने तनावमा छन् । त्यसकारण हामीले सन् २०२० को अगष्टमा फिल्म रिलिज गर्ने योजना बनाएका छौं । अहिलेको समस्या चाँडै समाधान हुनेछ भन्नेमा हामी भगवानसँग प्रार्थना गर्दछौं ।’

‘वन्डर वुमन २’को ट्रेलर अघिल्लो वर्षको डिसेम्बर ८ मा रिलिज भएको थियो । जसमा क्रिस पिनलाई स्टेभ ट्रेभर र रोबिन राइटलाई जेनेरल एन्टियोपका रुपमा देखाइएको थियो । फिल्मको नयाँ अनुहारमा क्रिस्टेन विग र पेड्रो पास्कल रहनेछन् ।

त्यसो त कोरोना भाइरसकै कारण मार्बलको ‘ब्ल्याक विडो’, जेम्स बोण्ड सिरिजको ‘नो टाइम टु डाइ’, फास्ट एण्ड फ्युरियसको ‘एफ ९’ लगायतका फिल्म सरिसकेका छन् ।