मुम्बई(एजेन्सी) । १६ वर्षको उमेर, ऋषि कपुर र शाहरुख खान जस्ता स्टारसँग रोमान्स, ९० दशकको शुरुवातमा अभिनेत्री दिव्या भारतीले फिल्मी दुनियाँमा पाइला चालिन् । केही वर्षमै उनले सबैलाई दिवाना बनाइन् । तर उनको यो दिवानापन लामो समयसम्म चल्दैन भन्ने कसैलाई थाहा थिएन । दिव्याले करियरको उडान भरिरहँदा उनको जीवनमा एक्कासी पूर्णविराम लाग्यो । अकस्मात भएको दिव्याको निधनले सारा भारत शोकमा डुब्यो ।
दिव्याको निधनले बलिउडमा अझैं पनि उनको अभाव खड्कीरहन्छ । तीन वर्षको अवधिमा नै उनी बलिउडकी उत्कृष्ट अभिनेत्री भइसकेकी थिइन् । उनको तुलना माधुरी दिक्षित, श्रीदेवी जस्ता अभिनेत्रीसँग हुने गर्दथ्यो । चाहे नृत्य होस्, या अभिनय उनको शैलीले एउटा सफलताको पाइला चालिसकेको थियो ।
दिव्याको जन्म सन् १९७४ फेब्रुअरी २५ मा भएको थियो । उनको सन् १९९३ अप्रिल ५ मा आफू बसेको फ्ल्याटको ढोकामा झरेर रहस्यमयी किसिमले मृत्यु भएको थियो । उनको निधन मुम्बईको वर्सोवा इलाकामा रहेको एक पाँच तले बिल्डिङबाट झरेर भएको थियो । यो समयमा उनको निधनलाई कतिपयले आत्महत्या पनि भनेका थिए । कतिले उनको निधनको पछाडि षडयन्त्र पनि हुनसक्ने बताएका थिए । मुम्बई पुलिसले पनि यो घटनाको फाइल सन् १९९८ मा बन्द गरेको थियो ।
समाचार अनुसार जुन दिन यो घट्ना भयो, त्यही दिन दिव्याले आफ्ना लागि फ्ल्याट किनेकी थिइन् । अप्रिल ५ मा हैदराबादमा दिव्याको फिल्मको सुटिङ हुने तयारी थियो । तर फ्ल्याट किन्नुपर्ने कारणले दिव्याले सुटिङ क्यान्सिल गरेर भोलिपल्ट आउने बताएकी थिइन् । उक्त दिन डिजाइनर नीता लुल्ला र उनका पतिका साथ वर्सोवाको फ्ल्याटमा भेटघाट गर्ने तयारीमा दिव्या थिइन् ।