शाहरुख र गौरीको तीनपटक विवाह !

मुम्बई(एजेन्सी) । बलिउडका किंग खान अर्थात शाहरुख खान र उनकी श्रीमति गौरी खान बलिउडकै रोमान्टिक जोडीका रुपमा चिनिन्छन् । यो जोडीले समाज र धर्मको झुठो ढोका तोडेर सन् १९९१ मा प्रेम विवाह गरेका हुन् । यो जोडीले विवाह गरेकै २९ वर्ष पुगिसक्यो ।

शाहरुखका लागि गौरी पाउनु एउटा सपना जस्तै थियो । उनले गौरीसँग विवाह गर्नका लागि निकै पापड बेल्नुपर्यो । यो जोडीको बारे एउटा रहस्य सायदै कमैलाई थाहा होला । यो जोडीले तीनपटक विवाह गरेका छन् । उनीहरुको विवाह पछाडिको कथा पनि निकै रोचक छ ।

शाहरुख दिल्लीमा बस्दाको समयदेखि नै गौरीको प्रेममा डुबिसकेका थिए । दुबैले एकापसलाई मनपराउन थालेपछि विवाह गर्ने निर्णय लिए । यो जोडीले २५ अक्टोबर १९९१ मा कोर्ट म्यारिज गरेका थिए । यो विवाहपछि दुवैले एकअर्कालाई स्वीकारेका थिए । त्यसपछि उनीहरुले पारम्परिक हिन्दु रीतिरिवाजमा विवाह गरेका थिए । शाहरुख मुस्लिम हुन् भने गौरी पन्जाबी हिन्दु हुन् । दुवैले धार्मिक मूल्यमान्यतालाई मान्ने भएकाले मुस्लिम संस्कार अनुसार पनि विवाह गरेका थिए ।

गौरीको वास्तविक नाम गौरी छिब्बर हो । गौरी विवाह पछि हिन्दु र मुस्लिम दुबै धर्म मान्छिन् । शाहरुख र गौरीको तीन सन्तान छन् । जसमा जेठा छोरा आर्यन खान हुन् भने छोरी सुहाना खान हुन् । उनीहरुले सन्न २०१३ मा सरोगेसीबाट अबरामलाई जन्मदिएका थिए ।