तेह्र वर्षपछि पुनः चर्चामा मनोजको १९७१(फिल्मसहित)

मुम्बई(एजेन्सी) । रिलिजको झन्डै १३ वर्ष पछि मनोज वाजपेयीको फिल्म ‘१९७१’ पुनः चर्चामा आएको छ । कोरोना संक्रमणको कारण लकडाउनमा बसिरहेका मानिसहरुले यो फिल्मबाट मनोरन्जन लिइरहेका छन् । लकडाउनको समयमा युट्युबमा यो फिल्म हेर्नेको संख्या उल्लेख्य बढेको छ । यो फिल्मको निर्देशन अमृत सागरले गरेका हुन् ।

फिल्ममा मनोज वाजपेयी, मानव कौल, पीयूष मिश्रा, दीपक डोबरियाल र रवि किशनलगायतका कलाकारको अभिनय छ । दर्शकले फिल्ममा अभिनय गर्ने सबै कलाकारको अभिनयलाई निकै मनपराएका छन् । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो । समिक्षकले यो फिल्मको निकै सराहना गरेका थिए । तर यो फिल्म विभिन्न कारणले दर्शकमाझ पुग्न सकेको थिएन ।

भारतमा लकडाउन हुनासाथ फिल्मका निर्देशक अमृत सागरले फिल्मलाई युट्युबमा राखेका थिए । फिल्मलाई १५ दिनमा झन्डै डेढ करोड भन्दा बढी दर्शकले हेरिसकेका छन् । ‘कोही व्यक्तिले मनोज वाजपेयीलाई तपाईंको फिल्मलाई कसरी हेर्न सकिन्छ भनेर ट्वीट गरेका थिए । किनकी यो फिल्म अमेजन–नेटफ्लिक्स वा दोस्रो ओटीटी प्लेटफर्ममा थिएन । मनोजले त्यो ट्वीट मलाई ट्याग गरे । मलाई मानिसहरुलाई फिल्म हेर्न मन लाग्यो होला भन्ने लाग्यो । त्यसपछि मैले फिल्मलाई युट्युबमा राखें’, उनले भनेका छन् । फिल्मको लिंकलाई मनोज तिवारीले आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

फिल्म सन् १९७१ को युद्धबन्दीमा आधारित छ । मनोज यो फिल्मलाई आफ्नो मनपर्ने फिल्ममध्येमा एक मान्दछन् । ‘यो एक विषयमा आधारित छ । जसलाई सबैले हेर्नुपर्छ । सामाजिक सन्जालमा फिल्मले पाएको प्रतिक्रियाबाट खुशी छु’ उनले भनेका छन् । फिल्मले सन् २००७ मा बेस्ट फिचर फिल्मको नेशनल अवार्ड पनि जितेको थियो ।