मुम्बई(एजेन्सी) । बलिउडका धेरै सेलिब्रेटी जोडीलाई दर्शकहरु उत्कृष्ट जोडी मान्दछन् । बलिउडका उत्कृष्ट जोडीको नाम लिँदा काजोल र अजय देवगनको नाम कहिल्यै छुट्दैन । फिल्ममा सँगै काम गरेको यो जोडीले चाँडै नै विवाह बन्धनमा बाँधिने निर्णय लिएका थिए । काजलले अजयसँग विवाह गरे पनि उनको क्रश अभिनेता अरु नै कोही थिए ।
हालै एक टेलिभिजन शोमा निर्माता तथा निर्देशक करण जोहरले यो कुराको खुलासा गरेका हुन् । उनका अनुसार मुम्बईमा एक कार्यक्रमको समयमा काजल आफ्नो क्रश अक्षयकुमारलाई खोजिरहेकी थिइन् । यो कुरा सन् १९९१ मा ऋषि कपुर र जेबा बख्तियारको फिल्म ‘हिना’ को प्रिमियरको बेला भएको हो । करणले त्यो समयमा अक्षयलाई खोज्न आफूले काजललाई सहयोग गरेको खुलाए ।
अजयले हालै दिएको एक अन्तरवार्तामा आफ्नो सम्बन्ध र विवाहका बारेमा केही रोचक कुरा बताएका थिए । अजय र काजलले सन् १९९९ फेब्रुअरीमा विवाह गरेका थिए । अजय आफ्नो विवाह धुमधामसँग होस् भन्ने चाहँदैन थिए । त्यसकारण उनले गुपचुप रुपमै विवाह गरे ।
अजयका अनुसार उनले काजललाई देख्नासाथ विवाह गर्ने निर्णय लिएका थिए । अजयले आफूले कहिल्यै पनि काजललाई औपचारिक रुपमा विवाहको प्रस्ताव नगरेको दाबी गरे । उनीहरुको विवाह एकदम साधारण किसिमले गरिएको थियो । अजयले आफू सुत्ने कोठाबाट बाहिर निस्किएर छतमा गएर काजलसँग विवाह गरेपछि पुनः सुत्ने कोठामा आएको खुलाएका थिए । अजय श्रीमति काजललाई एक लोमेन्टेन्स श्रीमति ठान्छन् । काजल धेरै खर्चालु नभएको कारण पनि अजयलाई काजलको यो बानी मनपर्दोरहेछ ।