विवाहसँग किन डराउछन् सलमान ?

मुम्बई(एजेन्सी) । बलिउडका ‘दबंग’ सलमान खान आफ्नो फिल्म र अभिनयका कारण चर्चामा आइरहन्छन् । हालसम्म अविवाहित यी अभिनेतालाई उनका फ्यानले जहिल्यै विवाहकै बारेमा सोधिरहेका हुन्छन् । सलमानको विवाहको विषयलाई लिएर फिल्म निर्माता साजिद नाडियाडवालाले हालै एक खुलासा गरेका थिए, जुन कुरा सुन्दा तपाईं पनि छक्क पर्नसक्नुहुन्छ ।

यतिबेला सामाजिक सन्जालमा ‘द कपिल शर्मा शो’ को एक भिडियो भाइरल भइरहेको छ । जसमा साजिद नाडियाडवाला अतिथिका रुपमा उपस्थित छन् भने कपिलले सलमानको विवाहका बारेमा उनलाई सोधिरहेका छन । साजिदका अनुसार सन् १९९९ मा सलमान विवाहका लागि तयारी अवस्थामा थिए । विवाहको कार्ड पनि बाँडिएको थियो । तर जुन दिन विवाह हुँदै थियो, त्यसको ६ दिन अगाडि सलमानले विवाह गर्न अस्वीकार गरे । सोही समयमा साजिदले पनि विवाह गरेका थिए ।

सन् १९९९ मा सलमान खान र ऐश्वर्या रायको फिल्म ‘हम दिल दे चुके सनम’ रिलिज भएको थियो । यो फिल्म पछि सलमान र ऐश्वर्याको अफेयरको बारेमा चर्चा शुरु भएको थियो । फ्यानहरुले साजिदले चर्चा गरेको बिहेको कार्डमा कतै सलमान र ऐश्वर्याको नाम त लेखिएको थिएन भनेर आशंका पनि गरेका छन् ।

सलमान हाल ५० वर्षको उकालोमा हिँडिरहेका छन् । बलिउडका सुल्तान सलमानको क्रेज अहिले पनि कायमै छ । उनी चाँडै ‘राधेः योर मोस्ट वान्डेट भाइ’ लिएर दर्शकमाझ आउँदैछन् । प्रभु देवाले निर्देशन गरिरहेको फिल्ममा सलमानको अपोजिटमा दिशा पटानी छिन् । यो फिल्म यसै मे २२ मा रिलिज हुने तयारीमा रहे पनि कोरोना भाइरसको संक्रमणका कारण सरेको छ ।