इरफान आइसीयूमा भर्ना

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता इरफान खान लामो समयदेखि न्यूरोएन्डोक्राइन ट्यूमर नामको रोगबाट पीडित छन् । यिनै इरफानको स्वास्थय अवस्थामा खराबी आएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । उनको आइसीयूमा उपचार भइरहेको छ । केही दिन अघि मात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो । लकडाउनका कारण मुम्बईमै रहेका उनले भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम दर्शन गरेका थिए ।

यद्यपी अस्पतालले इरफानलाई के भएको हो भन्ने बारे अहिलेसम्म केही जानकारी दिएको छैन । सन् २०१८ मा इरफान आफैंले ट्वीटरमा ‘जिन्दगीमा अचानक यस्ता केही कुरा हुन्छन्, जसले तपाईंलाई अगाडि लिएर जान्छ । मेरो जिन्दगीको पछिल्लो दिन यस्तै रहेको छ । मलाई न्यूरो इन्डोक्राइन ट्युमर नामक रोग लागेको छ’ भन्दै जानकारी दिएका थिए ।

इरफानको अभिनित फिल्म ‘अंग्रेजी मीडियम’ मा देखिएका थिए । तर फिल्मको सुटिङका समयमा पनि इरफान लण्डन आउनेजाने गरिरहन्थे । करिना कपुर र राधिका मदानको समेत अभिनय रहेको फिल्मको कथालाई दर्शकले रुचाएका थिए ।