मे वानमा पारिश्रमिक नपाउने मजदुरको पीडा

काठमाडौं । श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसका अवसर पारेर शुक्रबार सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् । यसै विषयलाई लिएर सन्देशमुलक सर्ट फिल्म बनाइएको हो ।

यसमा दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ । फिल्मका निर्देशक पुरुषोत्तम बस्नेतले काम गरेबापत पारिश्रमिक नपाएको पीडा देखाउन खोजिएको बताए । उनले हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर ‘मे वान’ निर्माण गरिएको खुलाए ।

‘मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरुको वास्तविक समस्या पनि समाधान गरौं । श्रमको मुल्य तिरौं, श्रमिकको इज्जत गरौं । यसको सांकेतिक प्रस्तुती यो सर्ट फिल्म हो’, निर्देशक बस्नेतले भने । मजदुरको पीडा उठाउने सञ्चारकर्मीहरु पनि पीडामा नै रहेको कुरा वास्तविकतामा नै भएको उनले बताए ।

अनिल कुमार महर्जनको सम्पादन रहेको फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो सर्ट फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।