किन हराउछन् किम जोङ उन ?

सिओल(एजेन्सी) । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन प्रति सारा विश्वको चासो यसपटक निकै भयो । २० दिनदेखि उनी कता थिए भन्ने केबल उनी निकटलाई मात्र थाहा थियो, बाँकी विश्व अनभिज्ञ थियो । २० दिन पछि उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको त्यहाँको समाचार एजेन्सीले एक फोटो सार्वजनिक गर्दै जानकारी दिएको छ ।

किम केही दिनका लागि अचानक गायब भएको यो पहिलो घटना होइन । यसअघि उनी एकपटक ४० दिन गायब भएका थिए । त्यो समयमा विश्वभर कुनै महामारी नफैलिदा पनि किम गायब भएका थिए । ४० दिन गायब भएपछि जब उनी जनतामाझ पुनः देखिए, त्यो बेला उनको हिड्ने शैलीमा केही परिवर्तन भएको थियो । त्यो समयमा उनको एक खुट्टामा केही समस्या आएको खबर बाहिर आएको थियो । त्यसबेला उनी खुट्टाको अपरेसन गर्नुपर्ने भएकाले आम मानिसबाट टाढा रहेर डाक्टरको निगरानीमा बसेका थिए ।

यसपटक उनी गायब रहँदा कोरोना भाइरसबाट बच्नका लागि उनले यो काम गरेको चर्चा चल्यो । तर यो चर्चामा खासै ठूलो दम देखिएन । त्यसबेला किमको खुट्टाको अपरेसन भएको उनको हिडाईबाट नै थाहा भएको थियो । किनकी उनी हिँड्दा लरखराएर हिड्ने गर्दछन् । किमलाई नजिकबाट चिन्नेहरुका अनुसार सन् २०१४ मा उनी अचानक ४० दिन गायब भएका थिए । उनलाई त्यो समयमा सार्वजनिक कार्यक्रम र कुनै अन्य गतिविधिमा देखिएको थिएन । त्यो समयमा उनको विषयमा अनेक अड्कलबाजी काटिएको थियो ।

यसपटक उनी २० दिनका लागि हराए । उनी हराउँदा उनका विषयमा अनेक अड्कलबाजी भए । कतिपयले उनलाई आइसियूमा छ भने त कतिपयले अपरेसनका कारण उनको अवस्था गम्भीर रहेकोसम्म बताए । अमेरिकासहित विश्वका अन्य देश पनि किमको स्वास्थ्य अवस्था र उनी हराएको विषयलाई लिएर धेरै उत्सुक भए ।
उत्तर कोरियाको कट्टर दुश्मन मानिएको दक्षिण कोरिया पनि किम बिरामी भएको वा बिरामीका कारण उनको निधन भएको भन्ने सूचना पाउन उत्साहित थियो । त्यसैकारण दक्षिण कोरियाले किम कुनै बिरामी नभएको र उनी पूर्ण रुपमा ठिक रहेको बताएको थियो ।

दक्षिण कोरियाले किम वेन्सनको पूर्वी तटीय क्षेत्रमा हुनसक्ने अनुमान लगाएको थियो । यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा किम पूर्ण रुपमा स्वस्थ भएको र केही दिनपछि जनतामाझ आउने जानकारी दिएका थिए । उनको यो भनाई शुक्रबार सही साबित भयो । एक सार्वजनिक कार्यक्रममा किम बहिनीसँग देखिए ।

यसअघि किमलाई पछिल्लो पटक अप्रिल ११ मा सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकको अध्यक्षता गर्दा देखिएको थियो । यो बैठकपछि उनी कुनै अर्को कार्यक्रममा देखिएनन् । यो बैठकपछि उनी दिवंगत हजुरबुवा र राष्ट्रका संस्थापक किम इल–सुङको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनी नदेखिएपछि उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी गरिएको थियो ।