मुम्बई(एजेन्सी) । पछिल्लो लामो समयदेखि दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरन्जीवीको फिल्म ‘आचार्य’को चर्चा चलिरहेको छ । यो फिल्मको आधिकारिक रुपमा नै घोषणा गरिएको छ । अब यो फिल्मसँग जोडिएको एक नयाँ कुरा बाहिर आएको छ । समाचार अनुसार यो फिल्ममा एक विशेष भूमिकाका लागि बलिउडका सुपरस्टार सलमान खानसँग सम्पर्क गरिएको छ ।
फिल्ममा खास केमियो रोल भएकाले चिरन्जीवीकै सल्लाह अनुसार फिल्ममा सलमानलाई राखिन लागिएको हो । यो फिल्म मलयालमको सुपरहिट फिल्म ‘लुसिफर’को रिमेक हो । मलयालममा पृथ्वीराजले निर्वाह गरेको भूमिकालाई सलमानले निभाउन भन्ने चाहना निर्माण पक्षको छ । सलमानले हालसम्म यो भूमिकाका लागि सहमति दिइसकेका छैनन् । चिरन्जीवीको प्रमुख भूमिका रहने फिल्ममा प्रभासको फिल्म ‘साहो’का निर्देशक सुजीतले निर्देशन गर्नेछन् । फिल्ममा चिरन्जीवीको अपोजिटमा काजल अग्रवाल रहनेछिन् ।
सलमान यो समयमा आफ्नो फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’को काममा व्यस्त छन् । फिल्मको अन्तिम सेड्युलको चाँ८ै छायांकन गरिनेछ । तर कोरोना भाइरसका कारण उनी लकडाउनमा फसेका छन् । प्रभुदेवाले निर्देशन गरिरहेको फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफको पनि अभिनय छ । यो फिल्म यसै वर्षको इदमा रिलिज हुने भनिए पनि लकडाउनका कारण अहिलेलाई स्थगित गरिएको छ । यो फिल्म बाहेक सलमानले नयाँ फिल्म ‘कभी इद कभी दिवाली’ को पनि घोषणा गरिसकेका छन् । यो फिल्ममा उनको अपोजिटमा पूजा हेगडे हुनेछिन् ।