नवाजुद्दीनको वैवाहिक जीवन संकटमा

मुम्बई(एजेन्सी) । बलिउडका लोकप्रिय अभिनेता नवाजुद्दीन सिद्दीकीको वैवाहिक जीवन संकटमा परेको छ । उनकी पत्नी आलिया सिद्दीकीले अभिनेतालाई एक कानूनी पत्र पठाउँदै सम्बन्धविच्छेदको माग गरेकी छन् । आलियाले गत मे ७ मा कानूनी पत्र पठाएर नवाजुद्दीनसँग सम्बन्धविच्छेदको माग गरेकी हुन् । उनले सम्बन्धविच्छेद पछि आफ्नो व्यवस्थापनका लागि पैसा मागेकी छन् । तर उनले नवाजुद्दीनसँग कुन शर्तमा पैसा मागेकी हुन् भन्ने केही खुलाएकी छैनन् ।

आलियाका अनुसार उनले दुई महिना अघि आफ्नो नाम कानूनी रुपमा बदलेर आलियाबाट अन्जना आनन्द किशोर पाण्डे बनाएकी छन् । आलियालाई अन्जली र अन्जना दुवै नामले चिनिन्छ । उनको पिताको नाम आनन्द किशोर पाण्डे हो । आलिया र नवाजुद्दीनको वैवाहिक जोडी बाँधिएको ११ वर्ष पुरा भएको छ । सन् २००९ मा दुवैले प्रेम विवाह गरेका थिए । विवाहपछि अन्जना उर्फ अन्जलीबाट आफ्नो नाम बदलेर आलिया राखेकी थिइन् ।

‘नवाजसँग समस्याको एउटा मात्र कारण छैन, ऊसँग धेरै कारण छन् । यी सबै कारण निकै गम्भीर विविधता किसिमका छन् । नवाज र मबीचको समस्या विवाहको एक वर्षपछि अर्थात सन् २०१० बाट शुरु भएको हो । तर म जहिल्यै पनि सबै कुरालाई सम्हाल्दै आएको थिएँ । तर अहिले पानी शीरभन्दा माथि पुगिसकेको छ’, उनले भनेकी छन् । आलिया नवाजुद्दीनको दोस्रो श्रीमति हुन् । यसअघि नवाजले नैनीताल नजिकै रहेको हल्दवानीमा बस्ने शीबा नामकी युवतीसँग विवाह गरेकी थिइन् । नवाजले आफ्नो आमाले मनपराएका कारण शीबासँग विवाह गरेका थिए । जुन सम्बन्ध ६ महिनासम्म मात्र रह्यो । ६ महिना पछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । विवाह टुटेको ६ महिना पछि नवाजले आफ्नो पूर्व प्रेमिका अन्जली उर्फ अन्जनासँग दोस्रो विवाह गरेका थिए ।

नवाजुद्दीन र आलियाको अफेयर सन् २००४ बाट शुरु भएको थियो र दुबैको कैयौंपटक भएको झगडाका कारण विवाह अघि पनि ब्रेकअप र प्याचअप हुन्थ्यो । जुन कुराको पुष्टि नवाजुद्दीनले आफ्नो आत्मकथा ‘एन अर्डिनरी लाइफ–ए मेमोर’मा विस्तृतमा लेखेका छन् । आलिया र नवाजका दुई सन्तान छन् । जसमा नौ वर्षकी छोरी शौर सिद्दीकी र पाँच वर्षका छोरा यानी सिद्दीकी छन् ।

तर आलियाका वकिल अभय सहायले लकडाउनका कारण नवाजलाई हुलाकमार्फत पत्र दिन नपाएको बताए । उनले इमेल र वाट्सएपका माध्यमबाट पत्र पठाएको जनाए । ‘हामी यो पत्रको उत्तरको प्रतिक्षामा छौं । लकडाउनपछि हामी फेमिली कोर्टमा सम्बन्धविच्छेदको लागि निवेदन दिनेछौं र प्रक्रियालाई अगाडि बढाउनेछौं’, वकिल सहायले भने । तर यो विषयमा नवाजुद्दीनले कुनै प्रतिक्रिया दिएका छैनन् ।