काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा छ । लकडाउनको ठूलो असर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई परेको छ । उनीहरुले न त काम नै पाएका छन्, न त राम्ररी खान नै । काम नै नपाएपछि मजदुरहरुले आफ्नो परिवारको चाहना पुरा गर्न सकेका छैनन् ।
यस्तै एक प्रतिनिधि पात्रमार्फत छाँयाकार अर्जुन तिवारीले सर्ट फिल्म ‘क्रन्दन’ सार्वजनिक गरेका छन् । उनको यो डेब्यू निर्देशन हो । फिल्ममा अर्जुनकै कथा, छायांकन तथा सम्पादन छ ।
फिल्ममा राज न्यौपानेले समग्र मजदुरको प्रतिनिधित्व गरेका छन् । फिल्ममा विजय बराल, सन्दिप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, अभिनित चौलागाईंले स्वर दिएका छन् । भिडियोमा अभिनेता पल शाह विशेष भूमिकामा छन् । तिवारीसँग दी भ्वाइस अफ नेपालको छायांकनसँगै फिल्म तथा म्युजिक भिडियोको छायांकन अनुभव छ ।