मुम्बई(एजेन्सी) । बलिउडका रोमान्स किङ शाहरुख खान जब आफ्नो हातलाई फैलाउँछन, उनको त्यो शैलीबाट सबै कायल हुन्छन् । ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट शुरु भएको उनको यो आइकनिक स्टाइल युवकमाझ निकै लोकप्रिय छ । सायदै कमैलाई मात्र थाहा होला, शाहरुख यो शैलीबाट आफै डराउँछन् ।
शाहरुखलाई आफूले हात फिजाउँदा कतै कसैले आफ्नो हात काट्ने हो कि भन्ने डर रहेछ । उनको यो कुरालाई अभिनेत्री अनुष्का शर्माले अचम्म मान्दै यस्तो पनि कुनै डर हो भन्दै प्रतिक्रिया दिएकी छन् । ‘मलाई हात खोल्ने सबै पपुलर स्टाइलबाट डर लाग्छ । कसैले मेरो हात पो काट्छ कि भन्ने डर हो’, उनले भनेका छन्, ‘टेलरको अगाडि नापजाँच गर्दा पनि म नर्भस हुन्छु । बडो असहज तरिकाले हात उठाउने गरेको छु ।’
शाहरुखले आफ्नो अर्को डरको पनि खुलासा गरेका छन् । ‘मलाई झूलेमा बस्न पनि डर लाग्छ । फिल्म देवदासको एक गीतमा ऐश्वर्या र म झूलेमा बसेका थियौं । यो पुरा गीतमा मैले ऐश्वर्याको हात समातेको थिएँ’, उनले भनेका छन् । तर शाहरुखलाई आफ्नो स्टारडम गुम्ला कि भन्ने डर छैन ।