हेमाले अस्वीकार गर्दा सन्जीवको दुःखद अन्त्य

मुम्बई(एजेन्सी) । फिल्म ‘शोले’की बसन्ती अर्थात् हेमा मालिनी र ठाकुर अर्थात् सन्जीव कुमारले सन् १९७५ मा रिलिज भएको यो फिल्ममा प्रमुख भूमिका निभाएका थिए । यो फिल्ममा काम गरिरहँदा दुई कलाकारबीच मनमुटाव पनि भएको थियो । मनमुटावलाई शान्त बनाउन फिल्मका निर्देशक रमेश सिप्पीले दुवैलाई सम्झाउनु परेको थियो ।

सन् १९७२ मा रमेश सिप्पीले फिल्म ‘सीता और गीता’मा हेमा र सन्जीवलाई अनुबन्ध गरेका थिए । सन्जीव हेमाको सुन्दरताबाट प्रभावित थिए । यो समयमा उनीहरु मिल्ने साथी पनि थिए । गुजराती सन्जीवले हेमाको चक्करमा इडली साम्बारसँग पनि प्रेम गरेका थिए । जब हेमाको हात माग्नका लागि सन्जीव उनकी आमा जया चक्रवर्तीकोमा पुगे, जयाले संजीवको प्रस्तावलाई अस्वीकार गरिन् । जयाले छोरी हेमाले तमिल भाषीसँग मात्र विवाह गर्ने र उनको विवाह फाइनल भइसकेको बताएकी थिइन् । यो सुनेपछि सन्जीव निराश हुँदै फर्किएका थिए । आफूलाई अस्वीकार गरे पनि हेमा प्रति उनको प्रेममा कहिल्यै कमी भएन ।

जब ‘शोले’ निर्माण हुने भयो, त्यो बेला सन्जीवले फिल्ममा बसन्तीको भूमिका हेमाले निभाउने थाहा पाए । उनले पुनः यो मौकामा प्रेम प्रस्ताव राख्ने निर्णय लिए । उनलाई त्यो समयमा हिट स्टार धर्मेन्द्रसँग हेमाको अफेयर छ भन्ने थाहा थियो । तर उनले यो कुरालाई गम्भीरतापूर्वक लिएनन् । सुटिङको शुरुवाती दिनमा सन्जीवले धर्मेन्द्रको अगाडि नै हेमालाई प्रपोज गरे । यो कुराले धर्मेन्द्र रिसले उग्र भए । तर निर्देशक सिप्पीले धर्मेन्द्रलाई थमथम्याए । उनले रमेशलाई फिल्ममा सन्जीव र हेमाबीच एउटा पनि दृश्य सँगै नहोस् भनेर शर्त राखे । यो शर्तपछि रमेशले फिल्ममा सन्जीव र हेमा सँगै भएको सबै दृश्य काट्नु परेको थियो ।

फिल्म रिलिज भयो, शुरुमा यो फिल्मले फ्लप व्यापार गरे पनि तेस्रो हप्तापछि भने गति लियो । यो फिल्मपछि धर्मेन्द्र र हेमाको जोडी हिट भयो । धर्मेन्द्रले हेमामात्र नभई उनको आमालाई पनि मनाए । दक्षिण भारतीय ज्वाई खोज्ने आमा पन्जाबी ज्वाईलाई स्वीकार्न बाध्य भइन् । यो घटनापछि सन्जीव विक्षिप्त भए । उनी मदिरा पिउन थाले । उनको पछि धेरै नायिका भए पनि उनले विवाह गरेनन् । सन्जीवले अन्त्यसम्मै हेमालाई भुल्न सकेनन् । यसको दश वर्षपछि उनको निधन भयो, त्यो समयसम्म उनी एक्लोपन र मदिराको बानीले पूर्ण रुपमा ग्रस्त भइसकेका थिए ।