साइकल गर्लको कथामा फिल्म

मुम्बई(एजेन्सी) । लकडाउनमा बिरामी पितालाई साइकलमा चढाएर गुरुग्रामबाट १२ सय किलोमिटर टाढा आफ्नो घर दरभंगा(बिहार) पुग्ने युवती ज्योति कुमारीको कथामा फिल्म बन्ने भएको छ । फिल्म ‘पीहू’का निर्देशक विनोद कापडीले उनको कथामा फिल्म बनाउने घोषणा गरेका हुन् । कापडीले ज्योति लाखौं युवतीका लागि प्रेरणा रहेका कारण फिल्म बनाउने निर्णय लिएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका ट्रम्पले पनि ट्वीटरका माध्यमबाट ज्योतिको कामको तारिफ गरेकी थिइन् । ज्योतिले पितालाई साइकलमा बसाएर मे १० देखि गुरुग्रामबाट साइकल चलाउन शू गरेकी थिइन् । उनी ६ दिन पछि घर पुगेकी थिइन् । यो यात्रामा उनले धेरै समस्या झेल्नु परेको थियो भने केहीले सहयोग पनि गरेका थिए ।

निर्देशक विनोद हाल लकडाउनका कारण पैदल र साइकलबाट घर जाँदै गरेका मजदुरको बारेमा सर्ट फिल्म बनाइरहेका छन् । यो काम सकेपछि उनले ज्योतिको बारेमा फिल्म बनाउनेछन् । ‘यसका लागि मैले उनको पिताबाट अनुमति पनि लिएको छु । फिल्मका लागि एडभान्समा उनलाई ५१ हजार रुपैंयाँ दिएको छु । फिल्म निर्माण भइसकेपछि बाँकी रकमको भुक्तानी गर्नेछु’, विनोदले भनेका छन् ।

केन्द्रीय मन्त्री रवि शंकरप्रसादले आफू ज्योतिको बहादुरीबाट प्रभावित भएको बताए । उनले खेलमन्त्री किरण रिजिजूलाई ज्योतिलाई साइक्लिङलाई अगाडि बढाउने हो भने उनलाई प्रशिक्षणमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।